एजेन्सी । विश्वकप फुटबलको लागि रुसमा रहेका डेनमार्कका डिफेन्डर जोनास कुडसेन भर्खरै जन्मिएकी छोरी भेट्न निजी बिमान चढेर डेनमार्क पुगेका छन् । डेनमार्क टिमका खेलाडीहरुले विमान खर्च जुटाईदिएपछि जोनास छोरी भेट्न डेनमार्क पुगेका हुन् ।
विश्वकपको पहिलो खेलमा पेरुविरुद्ध जित निकालेपछि डिफेन्डर जोनास डेनमार्क गएका हुन् । २५ बर्षिय डिफेन्डर जोनासकी श्रीमती ट्रिनेले यसै साता छोरीलाई जन्म दिएकी थिइन् । छोरीको जन्म हुँदा जोनास रुस आइसकेका थिए । र, जोनासले पेरुसँगको खेलमा जित निकालेपछि डेनमार्क जाने अनुमति पाएका हुन् ।
डेनमार्कमा गोलकिपर कास्परले मानवीय भानावालाई ख्याल गर्दै जोनासलाई घर फर्कने वातावरण बनाएको बताए । कास्परले भने, 'हामीले मानविय भावना बुझ्नु पर्छ, हाम्रो टोलीमा धेरै बुबाहरु छन् । हामीले बुझ्नुपर्छ हामी फुटबलरसँगै मानव पनि हौं ।'
यस्तै गोलकिपर कास्परले आफु एक बुबा भएको नाताले जोनासको भावना बुझ्न सकेको बताउदै उनलाई छोरीको अनुहार हेर्ने वातावरण मिलाएको बताए ।
छोरी भेट्न डेनमार्क पुगेका डिफेन्डर जोनास छोरीलाई भेटेर रुस फर्किसकेको समेत बीबीसीले लेखेको छ । जोनास सोमबार नै रुस फर्किएका थिए ।
समूह 'सी' मा रहेको डेनमार्कले पहिलो खेलमा शनिबार पेरुलाई पराजित गरेको थियो । अब डेनमार्कले बिहिबार अष्ट्रेलियासँग खेल्नेछ ।