पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले विजयी सुरुआत गरेको छ ।
पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले नै दोस्रो गर्दै अग्रता दोब्बर बनाए । खेलको ३७ औं मिनेटमा प्रदीप राजवंशीले तेश्रो गोल गरे भने ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४-० को फराकिलो जित दिलाएका हुन् ।
मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उदघाटन पनि निर्धारित समय भन्दा केहिबेर ढिला भएको थियो । उद्घाटन खेल सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ बीच हुने भनिएपनि पहिलो खेलको समय गुज्रिएपछि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको थियो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए ।
प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुनु नै यहाँको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई जितको शुभकामना दिए ।