पोखरा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बिहीबार लुम्बिनीमा पुर्र्याइएको छ ।
उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पुर्र्याएको हो ।
लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार विहान लुम्बिनीको शान्तिदीप अगाडि ओलम्पिक टर्चको र्याली कार्यक्रम गरिएको थियो ।
लुम्बिनीबाट बिहीबार नै टर्चलाई नवौं राष्ट्रिय खेलकुदको आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याईने भएको छ ।
ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित, राजकुमारी पाण्डे र भगवती केसी रहेका छन् ।
ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो ।
ओलम्पियन टोलीले ल्याएको उक्त टर्च पोखरामा टिकाबहादुर बोगटीसहितको अर्को ५ सदस्यीय गण्डकीका ओलम्पियन टोलीलाई हस्तान्तर गरिनेछ ।
उद्घाटनका दिन शुक्रबार सोही टोली र अन्य ओलम्पियन टोलीले ओलम्पिक टर्चलाई पोखरा रंगशालामा परिक्रमा गराएर गण्डकीका जेष्ठ ओलम्पियन सातौं दक्षिण एसियाली खेलकुदका म्याराथनका स्वर्ण पदक विजेता बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने जनाइएको छ ।