इलाम । पोखरामा सञ्चालन भैरहेको नवौं राष्ट्रिय खेलकुदमा सहभागीता जनाउने इलामका विश्वास राई र केसीका राईलाई बुधबार बिदाई गरिएको छ ।
प्रदेश १ बाट प्रतिनिधित्व गर्ने क्रस क्रन्ट्री र रोड रेसका विश्वास र हार्ड ट्रेल डाउन हिलमा सहभागी हुने केसीकालाई एमबीटी राइडरले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो ।
कन्यामस्थित कुहिरो होटलमा भेला भएका खेलकुदप्रेमीले खदा, अबिरका साथै आर्थिक सहयोग गरेर उनीहरुको बिदाई गरेका हुन् ।
एमटीबी राईडरका अध्यक्ष शरण फागोको अध्यक्षतामा भएको विदाई कार्यक्रममा निवर्तमान प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यता तथा निर्वतमान माई नगर प्रमुख दिपक कुमार थेबे, निवर्तमान सूर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराई र सूर्योदय नगरपालिका २ का वडाध्यक्ष डिक बमजनको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जनता सेभेन क्लबका मेनेजर ज्ञानबहादुर प्रधान, मोहन दोर्जे कागते, सागर तामाङ लगायतले खेलाडीलाई बिदाई गरेका थिए । सहभागी खेलाडीलाई आर्थिक अभाव भएपछि कार्यक्रममा सहभागी अतिथिले आर्थिक सहयोग समेत प्रदान गरेका थिए ।
दुबै जना खेलाडी इलामको सूर्योदय नगरपालिकाका बासिन्दा हुन् । तर उनीहरुलाई स्थानीय सरकारको तर्फबाट सहयोग भएको छैन। इलाममा साइक्लिङ संघ छैन । सहभागि खेलाडीहरु एमटिबी राईड क्लबका सदस्यहरु हुन् ।
एमटिबीले विभिन्न समयमा साइकल राइड सम्बन्धि प्रतिस्पर्धा र प्रर्वद्धनात्मक कार्य गर्दै आएको छ । सहभागी खेलाडी आजै पोखरा प्रस्थान गरेका छन् ।