पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) र राष्ट्रिय बाणिज्य बैंकबीच ३० लाख बराबरको प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा राष्ट्रिय बाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे ।
नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बैंकले प्रायोजन गरेको हो ।
सम्झौतासँगै बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगो सहित विभिन्न विज्ञापन गर्न पाउनेछ । जसमा खेल स्थलमा होर्डिङबोर्ड, स्टल, ब्यानर लगायत बिज्ञापनका सामाग्रीहरु प्रयोग गर्न पाउने छ भने विभिन्न प्रतियोगितामा पुरस्कार वितरणमा अतिथीको रुपमा सम्मान प्रदान गरिने छ ।
यस सम्झौता पश्चात बैंक र परिषदबीच आगामी दिनमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन सम्बन्धि यात्रालाई निरन्तरता प्रदान गर्ने सहमती भएको छ ।
विगत लामो समय देखि खेलकुदका विभिन्न खेललाई प्रायोजन गर्दै आईरहेको बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो प्रायोजन सम्बन्धि अग्रसरतालाई कायम गर्दै प्रायोजन गरेको छ ।