काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुआत गरेको छ ।
पोखरामा आइतबार भएको पहिलो खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ ।
मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा ३७ रनमा अलआउट भयो ।
गण्डकीका लागि शिला क्षेत्रीले १० रन बनाउनु बाहेक अन्य १० ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
गण्डकीलाई कम रनमा रोक्नका लागि मधेशका अनुराधा चौधरीले ४ तथा कविता गौतम र शान्ती चौधरीले समान २/२ विकेट लिए । सन्तोषी चौधरीको नाममा १ विकेट रह्यो ।
त्यस अघि पहिले ब्याटिङ गरेको मधेश प्रदेशले २० ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्र बनाएको थियो । मधेसका लागि सरस्वती कुमारी चौधरीले अविजित १५ तथा साना प्रविन र अलिशा यादवले समान १४/१४ रन बनाए । रोजी कडारीले अविजित ९तथा सन्तोषी चौधरी र शान्ती चौधरीले ८/८ रन बनाए ।
गण्डकीका लागि आकृति तिवारीले ३ तथा कुसुम गोदारले २ विकेट लिए । शृष्टि जैसी तथा शिला क्षेत्रीले १/१ विकेट लिए।
आज नै हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।
महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईसकेको छ ।