इटहरी । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकले फेन्सिङ र ह्याण्डबलका महिला र पुरुष खेलाडीलाई गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बिदाइ गरेको छ ।
खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले सहित बोर्डका पदाधिकारी र पुर्वान्चल खेलकुद विकास समितिका कर्मचारीले शनिबार एक कार्यक्रमकाबीच सुनसरीको इटहरी रंगशालाबाट खेलाडीलाई बिदाइ गरेको हो ।
खेलाडीलाई बिदाइ गर्दै सदस्य सचिव वाग्लेले जितको शुभकामना दिँदै प्रदेशको लागि मेडल जितेर ल्याउन खेलाडीलाई शुभकामना दिएका थिए ।
बिदाइ कार्यक्रमका खेलकुद विकास बोर्डका सदस्य शैलेश कुमार विष्ट, पुर्वान्चल खेलकुद विकास समितिका कार्यलय प्रमुख चण्डिका बास्तोला लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
शनिबार प्रदेश एकबाट फेन्सिङ र ह्याण्डबलको महिला र पुरुष गरी ५९ जना खेलाडीलाई गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनका लागि बिदाइ गरिएको खेलकुद विकास बोर्डले जनाएको छ ।
बोर्डले शुक्रबार महिला क्रिकेट टोलीलाई बिदाइ गरेको थियो ।