काठमाडौं । नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनसिपमा अपराजित यात्रा कायम राखेका छन् ।
पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले अपराजित यात्रालाई कायम राखेका हुन् ।
डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौंथो चरणको खेलमा आफुभन्दा कम वरीयताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए काठमाडौं ।
थापाले आइतबार राति भएको पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरीयताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल भए ।
च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको खेलमा थापाले दोश्रो बोर्डमा ईरानका महमुदी एम सदेगसँग प्रतिष्पर्धा गर्नेछन् ।
पाँच चरण पश्चात ईरानी खेलाडीद्धय फुलाडी बेहरुज र जमती सोभन पाँचपाँच अंकका साथ शीर्ष स्थानमा रहेका छन् भने ईरानकै महमुदी, पाकिस्तानका जुनाईद सोहिल र नेपालका कृष्ण थापा समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।
नवौं चरणसम्म चल्ने च्याम्पियनसिपका बाँकी ४ खेलमा समेत अनुकुल नतिजा निकालेर नेपाल र नेपालीलाई दशैंको उपहार दिन आतुर रहेको कृष्ण थापाले बताए ।
२० एशियाली देशका १४६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनसिप अक्टोबर ५ विजयादशमीको दिन सकिनेछ ।