काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत बिहीबार काठमाडौंको बसन्तपुरमा प्रदर्शनी गरिएको छ ।
विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा बिहीबार बिहान च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उपस्थितिमा बसन्तपुरमा ट्रफी प्रदर्शनी गरिएको हो ।
ट्रफी अवलोकन गर्दै मेयर बालेनले राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरे ।
विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा ट्रफी प्रदर्शनी गर्नें क्रममा बुधबार पाटन दरबार स्क्वायरले प्रदर्शनी गरिएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन लगायतको उपस्थिति रहेको थियो।
मेयर महर्जनले राष्ट्रिय खेलकुदको सफलताका लागि शुभकामना व्यक्त गर्दै बागमती प्रदेशले जितेको खण्डमा नगरपालिकाको तर्फबाट खेलाडीलाई पुरस्कृत गरिने बताए ।
काठमाडौंका मेयर बालेन र ललितपुर मेयर चिरिबाबूले आफ्नो क्षेत्रको सम्पदामा पुगेर ट्रफी अवलोकन गरेको ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टले जानकारी गराए ।
बुधबार नै विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा ट्रफी प्रदर्शनी गरिएको थियो ।
त्यस्तै आइतबार स्वयम्भु र बौद्ध स्तुपामा पनि च्याम्पियन्स ट्रफी प्रदर्शन गरिएको थियो ।
ट्रफी टुर अन्तर्गत यस अघि ट्रफीलाई सुदूरपश्चिम, लुम्बिनी, बागमती, कर्णाली र प्रदेश नं. १ तथा नेपाली सेना, नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो ।
ट्रफीलाई बुधबार अपरान्ह मधेश प्रदेशको रामजानकी मन्दिरमा प्रदर्शनीमा राखिने छ ।
अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा असोज २३ गते लगिने छ । पोखरामा ट्रफीलाई नगरपरिक्रमा गराईने छ ।
ट्रफी टुरका लागि राखेपले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्ण पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् ।
राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ ।