एजेन्सी । फिफा विश्वकप फुटबलको लागि रुसमा रहेका इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटको हात मर्किएको छ । रिपिनोमा दौडने क्रममा बुधबार प्रशिक्षक साउथगेटको दाहिने हातको कुम मर्किएको बिबिसीले जनाएको छ ।
विश्वकपको पहिलो खेलमा जित निकालेपछि भएको विश्रामको दिन प्रशिक्षक साउथगेटको हातमा चोट लागेको हो । बुधबार भएको टिमको मिटिङमा साउथगेट हात ब्यान्डेज गरिएको र हातलाई स्लीङको सहायता दिएर उपस्थित भएका थिए । हात मर्कीएपछि प्रशिक्षक साउथगेटलाई टिममा डाक्टर रोव चक्रवर्तीले उपचार गरेका थिए ।
हातमा चोट लागेपछि पनि टिम मिटिङमा उपस्थित भएका साउथगेटले जिस्कदै खेलाडीले गोल गरे आफु सेलिब्रेसन गर्न नसक्ने बताएका थिए । 'डाक्टरले स्पष्ट गरेको छ कि हावामा पन्च हान्ने विकल्प छैन,' साउथगेटले जिस्कदै भनेका छन्, 'भबिष्यमा मैले कुनैपनि गोलमा खेलाडीले जसरी खुसि मनाउन पाउने छैन ।'
रुसमा जारी विश्वकप फुटबलको दोस्रो खेलमा इंग्ल्यान्डले आइतबार पानामासँग खेल्ने छ । यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २ – १ ले हराएको थियो ।