काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले दुई हफ्ता मात्र बाँकी रहेको बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सन्दर्भमा कंही केही कमी कमजोरी छ भने त्यसलाई सुधारेर जान मातहतका सबै निकायहरुलाई निर्देशन दिएका छन् ।
नवौं राष्ट्रियमा सहभागी ३६ वटै खेल संघका पदाधिकारीहरु, नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति र विभिन्न उपसमितिबीचको अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले सो निर्देशन दिए ।
प्रतियोगिता शुरु हुनु अगाडि संघहरु, कार्यकारी समिति र उपसमितिहरुबीचको काम कारवाही विच तालमेल र समन्वय गर्नका निम्ति अन्तरक्रिया कार्यक्रम राखिएको हो ।
उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव तथा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा अब कुनै वाधा अवरोध नभएकोले संघहरुलाई उत्कृष्ट ढंगले खेल सञ्चालन गर्न आग्रह गरे ।
नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलको सञ्चालनको जिम्मा ३६ खेल संघहरुलाई दिइएको छ । जसका निम्ति प्रत्येक खेल संघहरुलाई रकम पनि छुट्याइएको छ ।
सदस्य–सचिवले नवौं राष्ट्रियका लागि तीब्र गतिमा काम भइरहेको बताँउदै खेलाडी विमा, प्रत्यक्ष प्रसारणको व्यवस्था, ब्यवस्थित सूचनाको लागि राखेपको एप तथा वेवसाइट निर्माण गरिसकिएको बताए ।
त्यस्तै नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरले देशभर खेलकुदको माहोल श्रृजना भएको पनि उनले बताए ।
सो अवसरमा संघहरुको जिज्ञासा र त्यसको समाधानको लागि लामो समय छलफल भएको थियो ।
सहभागी खेल संघका प्रतिनिधिहरुले खेल सामाग्री, खेलस्थल, बजेट, निर्णायकको कोटालगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।