काठमाडौं । हेटौंडाका निरज श्रेष्ठ दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा शुक्रबार तेश्रो चरणमा प्रवेश गरेका छन् ।
छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा निरजले सेल्फका केसीलाई ३–१ को फ्रेममा पराजित गरे ।
विराटनगरका सरोज गौतम, खसौलीका गणेश थापा, दीप लभका परिवेश रेग्मी, बगरकोटका निर्मलकुमार तामाङ, पोखराका दीपेश क्षेत्री र खसौलीका अमर थापम मगर पनि तेश्रो चरणमा पुग्न सफल भए ।
प्रतियोगितामा २ सय ५६ बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख ५१ हजार, १ लाख ११ हजार र ५१÷५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
१ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई १ लाख १ हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वाटरफाइनल पुग्ने खेलाडीलाई जनही ११ हजार नगद पुरस्कार दिइने छ । प्रिक्वाटरफाइनल यात्रा तय गर्ने खेलाडीलाई क्यु र क्यु बक्स प्रदान गरिने छ ।
नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोगमा भइरहेको हो ।