प्रकाश बन्जारा
इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि ट्रफी शनिबार प्रदेश नम्बर एकको राजधानी विराटनगरमा प्रदर्शनी गरिने भएको छ ।
गण्डकी प्रदेशमा हुने नवौंको ट्रफीको टुर अन्तर्गत विराटनगरमा शनिबार अनावरणको कार्यक्रम रहेको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
नवौंका लागि प्रदेश एक स्तरीय छनौट खेलको समापन कार्यक्रम र ट्रफीको अनावरण कार्यक्रम शनिबार विराटनगरस्थित सहिद रंगशालामा राखिएको खेलकुद विकास बोर्डले जनाएको छ । प्रदेश मुख्य मन्त्री राजेन्द्र कुमार राई सहित क्याबिनेटका अधिकांश मन्त्रीको उपस्थितीमा ट्रफीको स्वागत गरिने कार्यक्रम रहेको हो ।
ट्रफीलाई मधेश प्रदेश, सुदुरपश्चि प्रदेश र बाग्मति प्रदेशमा घुमाइसकिएको छ भने प्रदेश १ पछि अन्य बाँकि प्रदेशमा लगिने र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएको मुख्यालयमा लगिने कार्यक्रम रहेको छ । ट्रफीलाई अन्तिममा राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा पु¥याइने छ ।
राष्ट्रिय खेलकुदको माहोल बनाउन राखेपले देशमै पहिलो पटक ट्रफी टूर कार्यक्रम ल्याएको हो । प्रदेश एकको टुरमा प्रदेशका महत्वपुर्ण मन्त्रालय, सेना, प्रहरी र सशस्त्र प्रहरी वलका निकाय र अन्य खेल सम्बद्ध संस्था तथा पदाधिकारीहरुको महतवपुर्ण भेला हुने प्रदेश खेलकुद विकास बोर्डको भनाई छ ।
ट्रफीलाई देशका बिभिन्न प्रदेश र निकायमा टुर गराउने ट्रफी टुर कार्यदलमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सहभागी छन् ।
ट्रफीको भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधामन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । सम्पुर्ण खेलाडी र सम्वद्ध पदाधिकारी तथा नागरिकलाई ट्रफि टुर तथा अनावरण कार्यक्रममा सहभागि भइदिन प्रदेश खेलकुद विकास बोर्डले आग्रह गरेको छ ।