इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकको खेलाडी छनौट अन्तर्गत कुस्तीको प्रतियोगिता मंगलबार इनरुवा रंगशालामा सुरु भएको छ ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको उक्त प्रतियोगितामा प्रदेशका बिभिन्न जिल्लाका कुस्ती खेलाडीहरुको सहभागिता रहेको थियो ।
छनौट प्रतियोगिताको उद्घाटन मंगलबार इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरेका थिए । जिल्ला खेलकुद विकास समिति सुनसरीकी उपाध्यक्ष सरस्वती लुइटेल , नेकपा माओवादी केन्द्र इनरुवा नगरकमिटीका तोया गिरी पोद्धार लगायतको उपस्थितीमा भएको उद्घाटन कार्यक्रमको सभापतित्व कुस्ती प्रतियोगिता आयोजक समितिका संयोजक सम्भु आचार्यको सभापतित्वमा भएको थियो ।
कुस्ती प्रतियोगिताको उद्घाटन सत्रको पहिलो राउण्डको खेलमा ६५ केजी तौल समूहतर्फ झापाका सुनिल श्रेष्ठले जित हासिल गरेका थिए भने दोस्रो प्रतियोगितामा पनि सुनिलले नै जित हासिल गरे । यसैगरी ५७ केजी तौल समूहमा भएको दुवै प्रतियोगितामा सुनसरीका कपलदेव यादवले जित हासिल गरेका थिए । यस्तै ७० केजी तौल समुहको खेलमा सुनसरीका दिपेन्द्र यादव विजयी बनेका थिए भने ७० केजी तौल समूहको अर्को खेलमा झापाका पुनित मेचेले जित हासिल गरे ।
यस्तै ६१ केजी तौल समूहमा भएको खेलमा सुनसरीका शिवनारायण यादवले जित हासिल गरेका थिए । प्रदेश एक स्तरीय कुस्ती प्रतियोगिताको फाइनल खेल बुधबार बिहान ८ बजेबाट सुनसरीको सदरमुकाम इनरुवामा हुने जिल्ला खेलकुद विकास समिति सुनसरीकी उपाध्यक्ष सरस्वति लुइटेलले जानकारी दिइन ।