इटहरी । असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि साइक्लिङको प्रदेश १ स्तरीय छनौट प्रतियोगितामा डाउलहिलतर्फ महिला र पुरुष दुबैमा सुनसरी प्रथम भएको छ ।
धरान विजयपुरस्थित पञ्चकन्या जंगलमा भएको छनौटको डाउनहिलको पुरुषतर्फ सुनसरीका दीपक जिमी प्रथम, सौगात मगर दोस्रो, समृद्ध लिम्बु तेस्रो र उदयपुरका अवतार राई चौथो हुदै छनौट भएका छन् ।
महिलातर्फ सुनसरीकी आशा लिम्बू, इन्द्रकला लिम्बु निक्की र इलामकी तेसिका राई क्रमशः प्रथम, दोस्रो र तेस्रो हुदै छनौट भएकी छिन् ।
क्रस कन्ट्री विधाको पुरुषमा सुनसरीका किरण लिम्बू प्रथम, उदयपुरका निमा शेर्पा दोस्रो, ओखलढुंगाका विश्वास राई तेस्रो र उदयपुरका अवतार राई चौथो भएका छन् ।
महिलातर्फ क्रसकन्ट्रीमा इन्द्रकला लिम्बु (निक्की) प्रथम भइन् भने आशा लिम्बु दोस्रो भइन् ।
प्रतियोगितामा सुनसरीसँगै मोरङ, झापा, इलाम, ओखलढुङ्गालगायत जिल्लाबाट करिब ४ दर्जन महिला तथा पुरुष खेलाडीहरु सहभागी भएको सुनसरी साक्लिङका लागि संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डकी सदस्य रोशनी राईले जानकारी दिईन् ।