इटहरी । आगामी असोज २८ गते देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकको छनौटको भारोत्तोलनमा मोरङको बाहुल्यता देखिएको छ ।
विराटनगरमा बिहीबारबाट सुरु भारोत्तोलन छनौट प्रतियोगिताबाट मोरङका ६ जना खेलाडी प्रदेश एकको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश जाने पक्का भएको छ ।
शुक्रबार भएको छनौट खेलमा ५९ केजी महिलातर्फ झापाकी सोनी देवी दासले स्वर्ण जितेकी छन् भने खोटाङकी बिजुली थापाले रजत जितेकी छन् । यस्तै ६२ केजी तौल समूहको महिलामा इलामकी सुस्मा राईले स्वर्ण पदक जितेकी छन् भने उदयपुरकी सन्ध्या राईले रजत पदक जितेकी छन् ।
यस्तै ८१ केजी तौल समूहतर्फ मोरङकी सृष्टि भलले स्वर्ण जितेकी छन् । यता पुरुष तर्फ झापाका अमिलाल राजवंशीले स्वर्ण पदक जितेका छन् भने मोरङकै अर्जुन राजवंशीले ९६ केजी तौल समूहमा स्वर्ण जितेका छन् ।
प्रदेश नम्बर एकको प्रतिनिधित्व गर्दै पुरुषतर्फ उदयपुरका रामकुमार यादव, मोरङका अजित राजवंशी, उदयपुरकै रिवेश अधिकारी, मोरङका पियुष राजवंशी, मोरङका कपलेश्वर राजवंशी, झापाका अभिलाल राजवंशी , मोरङका अर्र्जुन राजवंशी, मोरङकै अजय राजवंशी , इलामका पुस्कर राई र झापाका प्रविष्ट राज लवड छनौट भएका छन् भने महिला तर्फ खोटाङकी ज्योती थापा, झापाकी राधा भुजेल, झापाकै करिना चौधरी, झापाकै सोनीदेवी दास, इलामकी सुस्मा राई, मोरङकी सृष्टि मल्ल, खोटागंकी बिजुली थापा, उदयपुरकी सन्ध्या राई, उदयपुरकै पार्वती राई र इलामकी सलिना तामाङ छनौटमा परेको छनौट समितिका सदस्य चिनिकाजीले जानकारी दिएका छन् ।
छनौट भएका तथा पदक प्राप्त गरेका खेलाडीलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।