काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले अमेरिकालाई पराजित गरेको छ ।
पपुवा न्यु गिनीको अमिनी पार्कमा बिहीबार भएको खेलमा नामिबिया ७९ रनले विजयी भएको हो ।
नामिबियाले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३१ ओभर ५ बलमा अलआउट हुदै ९७ रन मात्र बनायो ।
उसका लागि आरोन जोन्सले ४५ तथा गजानन्द सिंहले १५ रन बनाए । स्टेभन टेलरले ११ रन बनाउनु बाहेक अन्य ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका लागि ब्रिनड स्कोलज तथा जान फ्रायकलिकले समान ३/३ विकेट लिए । जान निकलले २ तथा रुबेन ट्रपिलम्यानले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ४८ ओभर ३ बलमा अलआउट हुदै १ सय ७६ रन बनाएको थियो । उसका लागि डिभान ला ककले ४८ तथा गेहार्ड इरास्मसले २७ रन बनाए ।
स्टेफन ब्राडले २५ तथा जान फ्रायकलिकले २२ रन बनाए । ब्रिनड स्कोलज्ले अविजित १७ तथा रुबेन ट्रपिलम्यानले १६ रन बनाए ।
अमेरिकाका लागि स्टेभन टेलर, नोसथुश केन्जीगि र सौरभ नेत्राभाल्करले समान २/२ विकेट लिए । निर्साग पटेल,गजानन्द सिंह र क्यामरुन स्टेभसनले समान १/१ विकेट लिए ।
जितसँगै नामिबियाको १९ खेलमा २० अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ । अमेरिका ३१ खेलमा २९ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।