प्रकाश बन्जारा ।
इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउँन प्रदेश नम्बर एकले आफ्नो छनौट प्रतियोगिताको बुधबार भव्य उद्घाटन गरेको छ ।
प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरु, तथा खेल सम्वद्ध पदाधिकारीहरुको भव्य समारोहकाबीच सास्कृतिक झाँकि, खेल डेमोस्ट्रेसन तथा बिभिन्न खेल प्रतियोगिता सहित प्रदेश स्तरिय वृहत छनौट प्रतियोगिताको उद्घाटन भएको हो ।
प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशका १४ वटै जिल्लाबाट आएका खेलाडीहरु सम्मिलित खेलकुल र्याली तथा शान्ति पदयात्रा सहितको टोलिलाई सम्मान गर्दै सलुट गर्न भ्याए भने कार्यक्रममा बजाईएको खेलकुद गीतमा नृत्य गर्दै प्रदेश नम्बर एक खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलाडीको मुहारमा खुसी छरेका थिए ।
विभिन्न जातजातिका भेषभुषाले सजिएको झाँकि,महिला पन्चेवाजा समुहको पन्चेवाजा तथा सशस्त्र प्रहरीको व्याण्ड सहित भएको भव्य शान्ति ¥यालिलाई कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री राजेन्द्र कुमार राईले सम्मान गरेका थिए । कार्यक्रममा आइटिएफ तेक्वान्दोको सेल्फ डिफेन्स, योग खेलको डेमोस्ट्रेसन तथा खेलकुद नृत्य समेत देखाइएको थियो।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य सचिव हंशराज वाग्लेले साढे पन्ध्र हजार खेलाडीबाट छनौट भएर आएका ५ हजार भन्दा बढि खेलाडीहरु प्रदेश छनौट प्रतियोगितामा सहभागि भएको बताए । ५ हजार ६ सय खेलाडीबाट छनौट भएर ७ सय ८ जना खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकको प्रतिनिधित्व गर्दै सहभागि हुने बताए ।
प्रमुख अतिथीको मन्तव्य राख्दै प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश संरचना भएपनि अधिकार केन्द्र सँग रहँदा हाल सम्मपनि खेलका संरचनाहरु प्रदेश सरकार मातहत नआइसकेको बेला प्रदेशले नवौँ राष्टिय खेलकुदमा सहभागिता जनाउनु निकै चुनौति पुर्ण रहेको बताए । पहिलो पटक प्रदेश सरचनामा गएर नवौ राष्टिय खेलकुद प्रतियोगितामा सहभागि हुन लाग्दा बजेट लगायतका समस्या भएपनि मन्त्रि परिषदले निर्णय गरेर प्रदेश खेलकुद विकास बोर्डले माग गरेजति नै बजेट उपलव्ध गराएको मुख्यमन्त्री राईले बताए ।
उनले भोलि बजेटको अपुग भएको खण्डमा समेत आफुहरु खेलाडीहरुको लागि थप बजेटको पहल गर्ने बताउँदै प्रदेशको लागि मेडल लिएर आएको खण्डमा आकर्षक पुरस्कार प्रदान गर्ने घोषणा समेत मुख्यमन्त्रीले गरेका थिए ।
कार्यक्रममा यातायात तथा संचार मन्त्री उपेन्द्र घिमिरे, सामाजिक विकास मन्त्री राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्यहरु शैलेस कुमार विष्ट, प्रदीप कुमार भगत, रितेश श्रेष्ठ, रोशनी राई, जिवनी राई, सन्दीप राई, प्रदेश प्रहरी प्रमुख, खेलकुद विकास समितिका पदाधिकारीहरु तथा खेलसम्बद्ध व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको थियो ।
बुधबार नै प्रदेश एकको इटहरी र धरानमा गरेर ७ वटा छनौट खेलहरु भएका छन् । इटहरीमा पुरुष भलिवल, महिला फुटवल, आईटिएफ तेक्वान्दो, टेवल टेनिस, पौडि र धरानमा बुद्धिचाल खेल सन्चालन भएको छ । प्रदेश एकको छनौट प्रतियोगिता असोज ८ गते सम्पन्न हुने प्रदेश खेलकुद विकास बोर्डले जानकारी दिएको छ ।