काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले लगातार तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा बुधबार नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै आर्मीले लगातार तेस्रो जित निकालेको हो।
वर्षाका कारण खेल १९ ओभरमा छोट्याईएको थियो । आर्मीले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन मात्र बनायो ।
उसका लागि आरिफ शेखले ४० रन बनाए । सुनिल धमलाले २७ तथा दिलिप नाथले २३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २१ तथा योगेन्द्र सिंह कार्कीले १४ रन बनाए । पवन सरार्फले १३ तथा करन केसीले ९ रन बनाए ।
आर्मीका लागि साहब आलम तथा सोमपाल कामीले समान २/२ विकेट लिए । जितेन्द्र मुखिया,सोमपाल कामी तथा सुसन भारीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । उसका लागि विनोद भण्डारी तथा अर्जुन साउदले अर्धशतक बनाए ।
कप्तान विनोद भण्डारीले अविजित ६६ तथा साउदले ५३ रन बनाएका थिए । भिम सार्कीले १५ तथा रोहित पौडेल र राजेश पुलामीले १४/१४ रन बनाए । पुलिसका लागि करन केसीले २ तथा गुल्सन झा र ललित राजवंशीले १/१ विकेट लिए ।
जितसँगै आर्मीको ५ खेलमा ८ अंक जोडेको छ । आर्मी समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
यस समूहबाट ५ खेलमा ६ अंक जोडेको पुलिस उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पुलिस कर्णाली प्रदेशसँग समान अंक भए पनि रनरेटमा अघि रहेर सेमिफाइनल पुगेको हो । समूह 'बी' बाट भने एनआरएनए स्पोर्टस एकेडेमी तथा सुदुरपश्चिम यस अघि नै सेमिफाइनल पुगिसकेका छन् ।
सेमिफाइनल खेल बिहीबार हुनेछ ।
अब सेमिफाइनलमा आर्मीले सुदूरपश्चिमसँग खेल्दा पुलिसले एनआरएनएसँग खेल्नेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।