प्रकाश बन्जारा । आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर एकको प्रदेश छनौट प्रतियोगिताको भव्य उद्घाटन बुधबार सुनसरीको इटहरी रंगशालामा हुने भएको छ ।
प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गर्ने प्रदेश छनौट प्रतियोगिता उद्घाटनको सम्पूर्ण तयारी सम्पन्न भएको उद्घाटन समारोहका संयोजक एंव प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार विष्टले जानकारी दिए ।
भदौ २९ गते बुधबार दिउँसो ३ बजे इटहरी रंगशालामा उद्घाटन हुने छनौट प्रतियोगितामा २ सय भन्दा बढि अतिथीहरुलाई आमन्त्रण गरिसकिएको बोर्डले जानकारी दिएको छ ।
उद्घाटन सत्रमा सांस्कृतिक खेलकुद र्याली, बिभिन्न जातजातिका भेष भुषा झल्कने गरीका प्रदर्शनी र १४ वटै जिल्लाका खेलकुद विकास समितिको झण्डा सहितको प्रद्र्धशनीको साथमा बिभिन्न झाँकी समेत इटहरी नगरको परिक्रमा गर्ने र इटहरी रंगशालामा ल्याएर उद्घाटन कार्यक्रम गरिने प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
३६ वटा खेलमा आफ्नो प्रतिनिधित्व गर्ने प्रदेश एकले १४ वटै जिल्लाबाट छनौट भएर आएका खेलाडीहरुलाई प्रदेशको टिम निर्माणका लागि झापा, मोरङ्ग र सुनसरी जिल्लाका बिभिन्न ठाउँमा प्रदेश स्तरिय छनौट प्रतियोगिताको आयोजना गर्न लागेको बोर्ड सदस्य रोशनी राई बताउँछिन् । राईका अनुसार उद्घाटनको दिनमात्रै सुनसरीको इटहरीमा बिभिन्न ७ वटा खेलकुद प्रतियोगिताहरु आयोजना हुने भएका छन् भने त्यस्तै गरी झापाको विर्तामोड, सुनसरीको धरान र मोरङ्गको बिराटनगरमा समेत खेलकुद प्रतियोगिताहरु संचालन हुनेछन् ।
भदौ २९ गतेबाट शुरु हुने प्रदेश छनौट प्रतियोगिता क्रमिक रुपमा असोज ८ गते सम्म सन्चालन हुने र असोज ८ गते विराटनगरमा समापन कार्यक्रममो आयोजना गरीने खेलकुद विकास बोर्डले जानकारी दिएको छ । उद्घाटन खेललाई रोमान्चक बनाउँदै प्रदेश एकलाई नै खेलमय बनाउन सबै खेलसम्वद्ध तथा खेलप्रेमीहरुलाई उपस्थितीको लागि बोर्डले अनुरोध समेत गरेको छ । प्रदेश छनौट प्रतियोगितामा सहभागि भएर उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् भने यहि छनौट बाट प्रदेशको टिम समेत तयार हुने छ ।