पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् ।
कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी गर्दै कुल साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् । यसैगरी कुल साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी द्धितिय बने । उनले पनि कुल ५ राउण्ड मध्ये ४ राउण्डमा जित र एक राउण्डमा बराबरी खेलेका थिए ।
यसैगरी बागलुङका लेख बहादुर थापा ४ अंकका साथ तृतिय भए । उनले ४ खेलमा जित र एक खेलमा हार बेहोरेका थिए ।
पुरुषतर्फ २३ जना प्रतियोगिले भाग लिएका थिए । यसैगरी बुद्धिचाल प्रतियोगीताको महिलातर्फ कास्कीकी पुजा भण्डारी प्रथम हुन सफल भइन् । उनले कुल ५ राउण्ड खेलमा ५ वटै खेल जित्दै प्रथम हुन सफल बनेकी हुन् । यसैगरी ४ राउण्डमा प्रथम र एक राउण्डमा पराजय भोगेर कुल ४ अंक जोडेकी लमजुङकी स्तुती खवास द्धितिय बनिन् । ३ राउण्डमा जित एक राउण्डमा हार र एक राउण्डमा बराबरी खेलेकी बागलुङकी झरना थापा तृतिय बनिन् ।
महिलातर्फ १३ जना खेलाडीले नाम दर्ता गराएपनि १२ जना खेलाडीले प्रतियोगितामा सहभागीता जनाए । बुद्धिचाल प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहु, बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङजा र नवलपुर जिल्लाले सहभागीता जनाएका थिए । मनाङ, गोरखा र म्याग्दि जिल्लाले भने सहभागीता जनाएन ।
बुद्धिचाल प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी ओम प्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्र प्रसाद प्रधानलाई दिइएको थियो । प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीता पोखरा सिर्जनाचोकस्थित स्टार लाउञ्ज एण्ड बारमा भएको हो ।
प्रथम, द्धितिय र तृतिय भई छनोट भएका खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् । उनीहरुले अब केही दिनपछि बन्दप्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक प्रधानले बताए ।