काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित तानडोरी प्रतियोगितामा शुक्रबार काठमाडौं पहिलो भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो ।
वार्षिकोत्सवकै अवसरमा शनिबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको हलमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतित्यथामा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा खेलाडीसहित १६ जनालाई सम्मान गरिने छ ।
त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पदक गरी १ सय ४१ कर्मचारीलाई पनि विभूषित गरिने छ । २०२१ साल भदौ १३ गते राखेप स्थापना भएको थियो । स्थापनाको दिन राखेपले त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयका साथै ७ प्रदेश र ७७ जिल्लामा दीपावली गरेको थियो ।