काठमाडौं । शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारतमा बजार विस्तार गरेको छ ।
स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतको सिलिगुरीमा नयाँ आउटलेट खोलेको हो ।
भारतको सिलिगुरीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ ।
यसअघि भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटीएम सिटीले सिलिगुरीमा पनि सेवा विस्तार गरेको हो ।
चाँडै भारतको राजधानी नयाँ दिल्लीको ब्यापारिक महलमा समेत आफुलाई लैजाने केटीएम सिटीले जनाएको छ ।
नेपाली उत्पादन केटीएम सिटीले देशभर विभिन्न आउटलेट मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौं सहित पूर्वको धरान, पश्चिमको बुटवलसम्म केटीएम सिटीले आउटलेट सञ्चालन गरेर शुलभ मुल्यमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय लुगा उपलब्ध गराउँदै आएको छ ।
भारतीय बजारमा पनि गुणस्तरीय नेपाली ब्राण्डको लुगाले सफलता प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।
‘केटीएम सिटीले गुणस्तरीय लुगामा देशलाई आत्मनिर्भर मात्र बनाएको छैन । अन्तराष्ट्रिय बजारमा नेपाली ब्राण्डको रुपमा आफुलाई स्थापित समेत गर्न खोजिरहेको छ ।
भारतीय बजारमा केटीएम सिटीले राम्रो सफलता प्राप्त गर्ने विश्वास हामीले लिएका छौं,’ केटीएम सिटीले बिज्ञप्तिमार्फत भनेको छ ।
‘अब हामी नेपालमात्र हैन, अन्तराष्ट्रिय बजारमा नेपाली लुगाको सम्भावना र बजार खोजिरहेका छौं । नेपाली ब्राण्डको लुगा निर्यात गरेर देशको अर्थतन्त्रमै टेवा पुर्याउने हिसाबले योजना बनाईरहेका छौं,’ जारी बिज्ञप्तिमा भनिएको छ ।
केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको आधिकारिक किट पार्टनर हो ।
पछिल्लो समय खेलकुदमा आक्रमक रुपमा सेवा विस्तार गरिरहेको केटीएम सिटीले भलिबल, ब्याडमिन्टन, मार्सलआर्ट, टेबल टेनिस लगायत सम्पुर्ण खेलको पोशाक उत्पादन र वितरण गर्दै आएको छ ।