इलाम । विराटनगरमा शनिबारबाट रात्रीकालिन फुटबल प्रतियोगिता सुरु हुने भएको छ । विराटनगरमा तेश्रो पटक रात्रिकालिन फुटबल प्रतियोगिता हुन लागेको हो ।
विराट गोल्डकपको दुई संस्करण रात्रीकालिन भएसंगै शनिबारबाट सहिद मैदानमा मुुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता हुन लागेको छ ।
साँझ साढे ६ बजेबाट सुरु हुने प्रतियोगिताको उद्धघाटन खेलमा विराटनगर रानीको मिल्स भेट्रान क्लब र झापाको दुधे भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता संयोजक बसन्त राज अर्यालका अनुसार प्रदेश १ मा पहिलोपटक ४० वर्ष उमेर माथिका खेलाडीबीच रात्रीकालिन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा मोरङ, सुनसरी, झापा र मधेश प्रदेशको लहानबाट टोलीको सहभागिता हुने आयोजक जनाएको छ ।
एक लाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताका लागि विराटनगरबाट मिल्स भेट्रान क्लब, हाटखोला भेट्रान्स क्लब, र आयोजकका तर्फबाट विराट मेघा भेट्रान क्लबको ए र बी गरि ४ टोली रहनेछन् ।
त्यसैगरि, झापाबाट दुधे भेट्रान क्लब, मोरङको डाँगीहाटबाट जहँदा भेट्रान क्लब, सिद्राहा भेट्रान क्लब, सुनसरीबाट दुहबी भेट्रान क्लब, र मधेश प्रदेशबाट लहान भेट्रान क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताका लागि कुल ६ लाख ७० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ। जसमा फ्लड लाईट र टोली ब्यवस्थापन खर्च समान १ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
प्रतियोगिता आयोजनाका लागि विराटनर महानगरबाट १ लाख र मुख्य प्रायोजकबाट २ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।