काठमाडौं । छोरतेन स्नुकर क्लब बौद्धको आयोजनामा दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता हुने भएको छ ।
क्लबले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २५ गतेदेखि सञ्चालन हुने जानकारी गराएको हो ।
प्रतियोगितामा २ सय ५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले जानकारी गराए ।
आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमश २ लाख ५१ हजार, १ लाख ११ हजार र ५१-५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
१ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई १ लाख १ हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वाटरफाइनल पुग्ने खेलाडीलाई जनही ११ हजार नगद पुरस्कार दिइने छ ।
प्रिक्वाटरफाइनल यात्रा तय गर्ने खेलाडीलाई क्यु र क्यु बक्स प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी गराए ।
प्रतियोगितालाई शेर्पा आउटडोरको केटीएम सिटीले प्रायोजन गरेको छ । प्रतियोगितामा सहभागी सबै खेलाडीले केटीएम सिटीको किट प्रयोग गर्नेछन् ।