काठमाडौं । नेपालका वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले जापान प्रस्थान गरेका छन् ।
'विश्व ब्याडमिन्टन च्याम्पियनसिप-२०२२' मा लाइन जजको भूमिका निर्वाह गर्न अर्याल बुधबार राति जापान प्रस्थान गरेका हुन् ।
अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ र खेतान स्पोर्ट्स फाउण्डेशनका अध्यक्ष विकाश खेतानले बिदाइ गरे ।
यस्तै नेपाल खेलकुद महासंघले पनि अर्याललाई बिदाइ गरेको थियो ।
जापानको टोकियोमा आगामी अगस्ट २२ देखि २९ सम्म आयोजना हुने च्याम्पियनसिपका लागि अम्पायर अर्याल अन्तर्राष्ट्रिय लाइन जजका लागि छनोट भएका थिए ।
अर्याल गत वर्ष जापान मै आयोजना भएको टोकियो पारालाम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली ब्याडमिन्टन टेक्निकल अफिसियल हुन् ।
सन् २०१९ जनवरी देखि २०२२ डिसेम्बरसम्म ४ वर्षका लागि विश्व ब्याडमिन्टन फेडेरेसनले आर्यललाई अन्तराष्ट्रिय लाइन जजको मान्यता दिएको थियो ।
ब्याडमिन्टन एसिया तथा ब्याडमिन्टन विश्व फेडेरेसनले मान्यता प्रदान गरेको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका मिल्स एरिया विराटगर निवासी अर्याल नेपाल विधुत प्राधिकरणमा कार्यरत छन् ।