काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको आधिकारिक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग आयोजना गर्दैछ ।
पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ ।
तर, पहिलो संस्करणमा चर्चित अन्तराष्ट्रिय विदेशी खेलाडी लिग खेल्न आउने सम्भावना कम देखिएको छ ।
क्यानका एक पदाधिकारीले चर्चित खेलाडी ल्याउन पहल गरेपनि ब्यस्त तालिकाले आउने सम्भावना कम भएको बताए।
'वर्तमान समयमा क्रिकेटमा चलेका ठुला नामका खेलाडीहरु त्यस समयमा नै रहेको टी-ट्वान्टी विश्वकपमा व्यस्त रहने छन् । उनीहरुको उपलब्धता कठिन रहेको छ,' क्यानका एक पदाधिकारीले भने, 'तर पहल भने पर्याप्त भईरहेको छ ।'
नेपाल टी-ट्वान्टी लिगको एक टोलीमा ५ जना विदेशी खेलाडी राख्न पाईने छ । क्यानले ड्राफ्टबाट टोलीले खेलाडी छनोट गरिने जनाएको छ ।
ठुला नामको खेलाडी अनुबन्ध गर्न नसकिए पनि भर्खरै अन्तराष्ट्रिय क्रिकेट छोडेका खेलाडी भने अवश्य पनि देख्न पाईने उनले बताए ।
क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।