काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा यस अघिको प्रतिस्पर्धामा वैकल्पिक सूचीमा रहेकालाई ल्याउने तयारी गरेको छ ।
मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले गत साता राजीनामा दिएपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको थियो ।
तर, अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) सँगको परामर्शमा यस अघि वैकल्पिकमा रहेकालाई मुख्य प्रशिक्षक नियुक्त गर्न सुझाव दिएपछि क्यानले प्रक्रिया अगाडी बढाईएको हो ।
यस अघिको वैकल्पिक सूचीमा तीन भारतीय प्रशिक्षक रहेका थिए । अपुर्व देशाई, मोन्टि देशाई र लालचन्द राजपुत पहिलो प्राथमिकतामा रहेका छन् । अपुर्व र मोन्टिले यस अघि ब्याटिङ कन्सल्टेन्टका रुपमा नेपाली टिमसँग काम गरि सकेका छन् ।
'उहाँहरुसँग निरन्तर छलफल भईरहेको छ । उहाँहरुको माग बढि रकमको रहेको छ जुन क्यानको स्तर भन्दा बाहिर रहेको छ । यसका लागि आईसीसीसँग पनि परामर्श भईरहेको छ,' क्यान महाप्रबन्धक वृतान्त खनालले खेलपाटीसँग भने ।
पूर्व मुख्य प्रशिक्षक पुबुदुलेले मासिक १० हजार अमेरिकी डलर पाउदै आएका थिए ।
महाप्रबन्धक खनालका अनुसार मुख्य प्रशिक्षक नियुक्ति खुल्ला प्रतिस्पर्धाका आधारमा गर्दा बढी समय र खर्च लाग्ने हुँदा पुरानोलाई नै प्राथमिकता दिईरहेको बताए ।
क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर, दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् ।
पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भईसकेका छन् ।