काठमाडौं । युएईको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता इन्टरनेसल लिग टी-ट्वान्टी (आईएल टी-२०) ले विश्वको शीर्ष खेलाडीलाई मोटो रकम पारिश्रमिक दिने तयारी गरेको छ ।
पहिलो संस्करणका लागि आईएल टी-२० ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको क्रिकइन्फोले जनाएको छ । जुन पारिश्रमिक भारतको इन्डियन प्रिमियर लिग (आइपीएल) पछिकै सर्वाधिक बढी हो।
आईएल टी-२० ले प्रतियोगितालाई आकर्षक र विश्व क्रिकेटको ध्यान तान्न खेलाडीलाई मोटो रकमको पारिश्रमिक दिने योजना बनाएको हो । मोटो रकमको कारण विश्वका ठुला खेलाडी प्रतियोगिता खेल्न आउने अनुमान गरिएको छ।
अष्ट्रेलियाका पूर्व कप्तान डेभिड वार्नर अष्ट्रेलियाको बिग ब्यास लिग छाडेर आईएल टी-२० लिग खेल्न आउने बताईएको छ ।
प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितालाई इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले स्वीकृति दिईसकेको छ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।
यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ ।
प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।
