काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय पाहुना टोली न्युजिल्याण्ड विजयी भएको छ।
इडनबर्गको ग्रेज क्रिकेट क्लबमा बुधबार राति भएको खेलमा न्युजिल्याण्डले ६८ रनको जित निकालेको हो ।
न्युजिल्याण्डले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो।
स्कटल्याण्डका कलुम म्याकडोनेटले ३३ तथा क्रिस ग्रेभ्सले ३१ रन बनाए । मार्क वाटले अविजित रहदै १७ रन बनाए।
घरेलु टोलीलाई कम रनमा रोक्न ईस सोधीले ४ तथा कप्तान मिचेल स्यान्टेनरले २ विकेट लिए । लक्कि फर्गुसन र बेन सिर्सले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।
न्युजिल्याण्डका ओपनर फिन एलेनले १ सय १ रनको शतकीय इनिङ खेले । मार्टिन गुप्टिलले ४० तथा जेम्स निशमले ३० रन बनाए।
स्कटल्याण्डका रिची बेरिटन,क्रिस सोल,हम्जा ताहिर र मार्क वाटले समान १/१ विकेट लिए ।
यस जितसॅंगै न्युजिल्याण्डले दुई खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ। दोस्रो तथा अन्तिम टी-ट्वान्टी शुक्रबार हुनेछ ।