काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आगामी सिजनको क्यारेवियन प्रिमियर लिग(सीपीएल) खेल्दै छन् ।
१० औं संस्करणको सीपीएलका लागि सन्दीप जमैका तालाबाजमा अनुबन्धित भएका छन् ।
जमैकाले सन् २०१३ मा सीपीएलको सुरुआत भएबाट सहभागिता जनाउदै आएको छ । पहिलो संस्करणमा नै च्याम्पियन बनेको जमैका हालसम्म दुई पटक च्याम्पियन भएको छ ।
सन् २०१६ को चौंथो संस्करणमा जमैका दोस्रो पटक च्याम्पियन भएको थियो । सुरुआतको संस्करणबाट गत संस्करणसम्म जमैकामा नै रहेका आन्द्रे रसलले यस टिमका लागि ५८ विकेट लिएका छन् ।
जमैकासँग सुरुआतका संस्करणसँगै रहेका क्रिस गेल १ हजार ६ सय ९५ रनका साथ सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।
यस संस्करणका लागि जमैकाले शिवनारायण चन्द्रपौललाई मुख्य प्रशिक्षकको रुपमा नियुक्ति दिएको छ ।
यस प्रतियोगिताको ९ औं संस्करणसम्म जमैकाले ९७ खेल खेलेको छ । जसमा ४७ मा जित, ४७ मा हार तथा ३ खेल नतिजा विहीन रहेको छ ।
यस संस्करणमा टोलीका पाँच विदेशी खेलाडी रहेका छन् । जमैकामा विदेशी कोटामा सन्दीपका अलावा पाकिस्तानका मोहम्मद अमिर तथा इमाद वासिम रहेका छन् ।
अष्ट्रेलियाका क्रिस ग्रिन तथा दक्षिण अफ्रिकाका मिगाली प्रिटोरियस रहेका छन् ।
वेस्ट इन्डिजका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटका उपकप्तान रोभम्यान पावेलको कप्तानी यस टोलीमा रहने छ ।
यस्तै वेस्ट इन्डिजका विस्फोटक ब्याटरको छवि बनाएका ब्राण्डन किंग्स, किमार लुईस,फेबियन एलेन जमैकाको टिममा रहेका छन् ।
१० औं संस्करणको सीपीएल अगस्ट ३१ बाट सेप्टेम्बर ३० सम्म जारी रहने छ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।