काठमाडौं । इंग्ल्यान्डले पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सहज जित निकालेको छ ।
म्यानचेस्टरमा शुक्रबार इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा दक्षिण अफ्रीकाले जितेको थियो । दुई टोलीबीचको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ ।
वर्षाको कारण २९ ओभरमा घटाईएको खेलमा घरेलु टोलीले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभर ४ बलमा ८३ रन जोड्दा अलआउट भयो ।
उसका लागि हेन्रिच क्लासेनले ३३ रन बनाए । ड्वाने प्रिटोरियसले १७ तथा डेबिड मिलरले १२ रन बनाए ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदिल राशिदले ३ विकेट लिए । रिच टोप्ले र मोईन अलीले समान २/२ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोलीले २८ ओभर १ बलमा अलआउट हुनु अघि २ सय १ रन बनाएको थियो ।
इंग्ल्यान्डका लियाम लिभिङस्टोनले ३८ रन बनाए । साम करनले ३५ तथा जोनी बेयस्ट्रोले २८ रन बनाए । डेबिड विलि तथा फिलिप साल्टले २१ तथा १७ रन बनाए ।
दक्षिण अफ्रिकाका ड्वाने प्रिटोरियसले ४ विकेट लिए । एनरिक नोर्किया र ताब्रेज साम्सीले समान २/२ विकेट लिए ।