सागर अधिकारी।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुख्य प्रशिक्षक पाउन लामै समय कुर्नुपर्ने भएको छ ।
मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बुधबार व्यक्तिगत कारण देखाउदै राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले खुल्ला प्रतिस्पर्धाबाट नयाँ मुख्य प्रशिक्षक ल्याउने योजना बनाएको छ । तर, मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रियामा जान नै समय लाग्ने भएको छ ।
मुख्य प्रशिक्षकको आवेदन खुलाउन बोर्ड बैठकको स्विकृती चाहिन्छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल देश बाहिर रहेकाले तत्काल बोर्ड बैठक बस्ने सम्भावना छैन ।
'अध्यक्ष र कार्यबाहक सचिव आईसीसीको बैठकमा सहभागी हुन इंग्ल्यान्ड जानु भएको छ । उहाँहरु १४ गते फर्कने तालिका रहेको छ । त्यसपछि मात्र प्रशिक्षक नियुक्तिको प्रकृया सुरु हुन्छ,' क्यान महाप्रबन्धक वृतान्त खनालले खेलपाटीसँग भने ।

महाप्रबन्धक खनालले मुख्य प्रशिक्षक नियुक्ति खुल्ला प्रतिस्पर्धाका आधारमा गरिने बताए ।
'हामीले खोजे जस्तो प्रशिक्षक नेपालमा छैनन् नै आवेदन बाहिरकाले दिने हुन् । कतिको संख्यामा आवेदन आउछ । त्योबाट नै नियुक्ति कहिले सम्म हुन्छ भन्न सकिन्छ,' खनालले भने, 'पहिलेको जस्तो महत्वपूर्ण प्रतियोगिताको साता दिन अघि मात्र प्रशिक्षक नियुक्त हुने परम्परा यस पटक तोडिने र माथिल्लो स्तरको प्रशिक्षक ल्याउने तयारी समेत रहेको छ ।'
क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर, दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् ।
पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भईसकेका छन् ।