काठमाडौं । नेपाल खेलकुद महासंघ अन्तर्गतको नेकोस राष्ट्रिय क्रिकेट संघले नेपाल टी-ट्वान्टी लिग सफल पार्न आह्वान गरेको छ ।
नेकोस क्रिकेट संघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको सफल आयोजनाका लागि आह्वान गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको प्रतियोगिता अनिवार्य आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्यानले नेपाली क्रिकेट विकासका लागि महत्वपूर्ण कदम चालेकोमा नेकोसले बधाई तथा धन्यबाद पनि दिएको छ ।
प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
क्यानले लिग खेल्ने ४ वटा टिमको नाम र टिम मालिक घोषणा गरिसकेको छ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्ने छन् ।
बाँकी दुई टिमको नाम र मालिक चाडै सार्वजनिक गरिने क्यानले जनाएको छ ।
क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।
नेकोसले आईसीसीबाट आर्थिक प्रतिबन्ध फुकुवा भएको क्यानलाई बधाई समेत दिएको छ।
