काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अबको मुख्य लक्ष्य एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्नु रहेको बताएका छन् ।
आईसीसी लिग टू अन्तर्गत स्कटल्याण्डमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर स्वदेश फर्केपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कप्तान सन्दीपले सो कुरा बताएका हुन् ।
'अबको हाम्रो लक्ष्य एकदिवसीय अन्तराष्ट्रियको मान्यता कायम राख्नु नै रहेको छ । यसमा हामी सफल हुनेछौ,' उनले भने ।
कप्तान सन्दीपले आफु मैदानमा कप्तान भन्दा पनि खेलाडीको रुपमा रहने समेत बताए ।
'खेलको समयमा कप्तान भन्दा पनि एक खेलाडीको रुप रहने गर्छु,' उनले थपे ।
यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाललाई एकदिवसीय मान्यता कायम राख्न सहज रहेको बताए ।
उनले भने, 'नेपालले अब १६ खेल खेल्न बाँकी रहेको छ । सो मध्ये ८ खेल घरेलु मैदानमा रहेको र पपुवा न्यु गिनी जस्तो टिमसँग रहेकोले हामीलाई थप सहज रहेको छ ।'
स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो । तर, सिरिजको ४ खेलमा नेपाल एक खेलमा मात्र विजयी भएको थियो ।
नामिबियासँगको दुई खेलमा दुवैमा नेपाल पराजित भएको थियो । घरेलु टोलीसँग नेपालले एक खेलमा जित र एकमा हार व्यहोरेको थियो ।
लिग टू आगामी वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोट हो । यस प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ ।