काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको छ । र, नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्न लागेको हो ।
घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।
यस अघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ ।
सिरिज अन्तर्गत नै नेपालले नामिबियासँग भने दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।
नेपालसँग पराजित स्कटल्याण्डले भने नामिबियालाई दुबै खेलमा हराएको छ ।
नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ ।
स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।