काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको स्कटल्याण्ड सिरिजमा नेपालले आज शनिबार आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ ।
कामबोसडन क्रिकेट मैदानमा नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
नामिबियाको यस सिरिजमा यो चौथो तथा अन्तिम खेल हो । पहिलो र तेस्रो खेलमा नामिबिया आयोजक स्कटल्याण्डसँग पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपाललाई पराजित गरेको थियो ।
नामिबियाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजिमा हुनेछ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।
नामिबियाविरुद्ध स्कटल्याण्डसँगको प्लेईङ-११ ले नै निरन्तरता पाउने सम्भावना रहेको छ ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडीलाई नै निरन्तरता दिने सम्भावना रहेको छ । तीन नम्बरमा देव खनालले निरन्तरता पाउने सम्भावना छ । खनालले आफ्नो स्ट्राईक रेटमा ध्यान दिन जरुरी रहेको छ ।
चौथो र पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले स्थान बनाउने छन् ।
आरिफ शेख छैटौं स्थानमा रहँदा सातौं नम्बरमा विस्फोटक ब्याटर आदिल आलमको सम्भावना रहेको छ ।
आठौं र नवौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् ।
दशौं र एघारौं नम्बरमा बसिर अहमद र सन्दीप लामिछाने रहने छन् ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,देव खनाल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी,बसिर अहमद र सन्दीप लामिछाने(कप्तान)