काठमाडौं । विद्यालय स्तरीय यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको (एलपीएल) सातौं संस्करण कात्तिकमा आयोजना हुने भएको छ ।
लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले प्रतियोगिता धनगढीमा कात्तिक १३ देखि कात्तिक २६ गतेसम्म हुने जनाएको छ।
प्रतियोगिताको विजेताले २ लाख ५१ हजार १५१ रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै उपविजेताले १ लाख २५ हजार १२५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ द सिरिजले ३० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने छ । सहभागी प्रत्येक टिमले ४ जना यू-१९ राष्ट्रिय टिमका खेलाडीहरु समाबेश गर्न पाउने प्रावधान छ।
गत संस्करणमा यू-१९ राष्ट्रिय टिमका कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनाल सहित आदील अन्सारी, बसिर एहमद सहित यू-१९ राष्ट्रिय क्रिकेटरहरु सन्तोष कार्की, अर्जुन साउद, शेर मल्ल, प्रकाश जैसी, बिपन रावल, विशाल बिक्रम केसी, सुवास ऐयर, आकाश चन्द, गौतम केसी, खडक बोहरा बिभिन्न टिमबाट सहभागी थिए।
प्रतियोगितालाई नेपाल क्रिकेट संघले समेत मान्यता दिईसकेको छ। बिगतको संस्करण भन्दा यस पटक प्रतियोगितालाई थप स्तरीय बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ।
'सहभागी १० टिमहरुलाई दुई समूहमा विभाजन गरिनेछ जसकारण एउटा टिमले ४ वटा लिग चरणकै खेल खेल्न पाउनेछन्, जसबाट विद्यालयहरुभित्र लुकेर रहेका नव प्रतिभाहरु पहिचान गर्न सजिलो हुनेछ,' लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बिज्ञप्तिमा बताएका छन्।
प्रतियोगिताको गत संस्करणको उपाधि सन्तोष कार्की कप्तानीको सत्यवती एकेडेमीले जितेको थियो ।