काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्याण्डले नेपाललाई जितका लागि १ सय ४५ रनको लक्ष्य दिएको छ ।
टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायो ।
स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले ।
मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे ।
कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका सोमपाल कामी र आदील आलमले ३/३ विकेट लिए ।
कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउँन नेपाललाई सहज छैन ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।
स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।
लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।