काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई जितका लागि २ सय २१ रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्डको न्यु काम्बसडनमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनायो ।
नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै डिभान ला ककले ४१ रन जोड्दा कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोडे ।
क्रेग विलियम्सले २१ तथा लो हान्ड्री र डाभिड वाइसले समान १८/१८ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए ।
सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।
नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।
लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।