काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा श्रीलंका एक इनिङ ३९ रनले विजयी भएको छ ।
गालेमा सोमबार अष्ट्रेलिया दोस्रो इनिङमा १ सय ५१ रन जोड्दा अलआउट भएपछि श्रीलंका एकै इनिङ्समा विजयी भएको हो ।
यससँगै अष्ट्रेलिया र श्रीलंकाबीचको दुई खेलको टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा अलआउट हुँदै ३ सय ६४ रन बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले १ सय ४५ रनको शतकीय इनिङ खेल्दा मार्नुस लाबुसेनले १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए ।
श्रीलंकाका प्रभात जयसुर्याले ६ तथा कसुन रन्जिथाले २ विकेट लिएका थिए ।
दिनेश चण्डीमालले दोहोरो शतक बनाएपछि पहिलो इनिङमा श्रीलंकाले ५ सय ५४ रन बनाएको थियो । र, घरेलु टोलीले पहिलो इनिङमा १ सय ९० रनको अग्रता बनाएको थियो ।
पहिलो इनिङमा चम्किएका श्रीलंकाका चण्डीमालले अविजित २ सय ६ रन बनाए । दिमुथ करुनारत्नेले ८६ तथा कुशल मेन्डिसले ८५ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ४, मिचेल स्पिसनले ३ र नाथन लायनले २ विकेट लिए ।
पहिलो इनिङ १ सय ९० रनले पछि परेको अष्ट्रेलिया दोस्रो इनिङमा भने सस्तैमा समेटियो ।
दोस्रो इनिङमा अष्ट्रेलियाका मार्नुस लाबुसेनले सर्वाधिक ३२ रन बनाए । यस्तै उस्मान ख्वाजाले २९ र डेभिड वार्नरले २४ रन बनाए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न श्रीलंकाका प्रभात जयसुर्याले ६ विकेट लिए । महेश तिक्षणा र रमेश मेन्डिसले समान २/२ विकेट लिए ।