काठमाडौं । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले हार व्यहोरेको छ ।
किङ सिटी स्टेडियममा बुधबार राति नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।
क्यानडाले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो ।
नेपालका लागि देव खनालले सर्वाधिक २६ रन जोड्दा पवन सर्राफले १४ रन जोडे ।
विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रनमा आउट भए ।
कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, कुशल भुर्तेल १ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे ।
दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पेभेलियन फर्किए ।
क्यानडाका अमर खालीद, सलमान नजर,रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन जोडेको थियो ।
क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय इनिङ खेले । आरोन जोनसनले ४४ रन जोड्दा अमर खालीदले अविजित ३० रन बनाए ।
उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे ।
नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । दिपेन्द्रले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले १/१ विकेट लिए ।
नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको हो । तर, पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।
विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।
यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।
अब नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।