काठमाडौं । नेपाली कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले जमैका तालाबाजबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।
जमैकाले २०२२ को सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको सीपीएलले जनाएको छ ।
सन्दीपले २०१८ देखि वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएल खेल्दै आएका छन् । गत संस्करण उनी ट्रिन्बागो नाईट राईडर्समा अनुबन्ध भएका थिए । तर,सोही समयमा नेपाली राष्ट्रिय टोलीको ओमान टुर परेकाले उनले सहभागीता जनाउन पाएनन् ।
सन्दीपले जमैकाबाट दोस्रो पटक खेल्न लागेका हुन् । २०२० को आठौं संस्करण सन्दीपले जमैकाबाट खेलेका थिए ।

जमैकाले पाँच विदेशी खेलाडीको कोटामा ५ जनालाई ड्राफ्ट अगाडी नै अनुबन्ध गरेको हो ।
जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम रहेका छन् । अष्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् रहेका छन्
सीपीएल अगस्ट ३० बाट सुरु हुनेछ । दशौं संस्करणको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।