काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य जगत टमटाले युएईविरुद्धको एक खेल 'ब्याड लक' बन्दा लक्ष्यबाट चुकेको बताएका छन् ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर स्वदेश फर्किएपछि संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक टमटाले टोलीका लागि एक खेल 'ब्याड लक' बनेको बताए ।
'एउटा लक्ष्य लिएर गएको हो । समग्रमा सबै खेलाडीले राम्रो खेलको छ । एउटा खेल ब्याड लक रह्यो । मुखमा आएको खेल छुट्यो । जुन खेलले हामी हाम्रो लक्ष्यमा चुक्यौं,' मुख्य प्रशिक्षक टमटाले भने, 'यसको जिम्मेवारी म आफै लिन्छु । आफैलाई नराम्रो लागेको छ । यस्तो एसीसी र आईसीसीको ठुलो इभेन्ट्समा एउटा रिजर्भ डे राख्नु पर्ने थियो ।'
मलेसियामा भएको च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो ।
युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपालको उपाधि जित्ने लक्ष्य सकिएको थियो । खेल रद्द हुँदा समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको थियो ।
सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको थियो ।
'हामी सेमिफाइनल गईसकेका थियौं । कम्तिमा हामीले हङकङसंगको त्यो खेल जितेको भए फरक समीकरण हुन्थ्यो । हामीले हरेक खेल जित्नका लागि खेलेको हो । तर युएईविरुद्ध खेल हाम्रो लागि धेरै ठुलो ब्याड लक भयो,' टमटाले भने ।

कप्तान रुबिनाले ब्याड लक खेललाई पर राख्ने हो भने टिममा धेरै सकारात्मक कुरा देखिएको बताए ।
'हार्ट ब्रोकन थियो । तर, क्लाइमेटको कण्डिसनलाई कसलाई दोष दिने, केहि भन्न मिलेन । यो ब्याड लकलाई पर राख्ने हो भने धेरै सकारात्मक कुरा छ,' कप्तान रुबिनाले भनिन् ।
कप्तान रुबिनाले युएईविरुद्ध नखेली फर्कनु पर्दा दुख लागेको बताईन् ।
'सबैले मैदानमा आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो । हङकङसँगको हारपछि समिकरण बदलिए पनि युएईमाथि प्रदर्शन हाम्रो योजनाबद्ध तरिकाले अगाडि बढेको थियो,' कप्तान रुबिनाले भनिन्, 'बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भए पनि नखेली आउनु पर्दा दुख लागेको छ ।'
कप्तान रुबिनाले अहिलेको लयलाई निरन्तरता दिन चाहेको समेत बताईन् । रुबिनाले काठमाडौंमा बसेर अभ्यासलाई निरन्तरता दिने योजना रहेको सुनाईन् ।
'हामी अहिलेको लयलाई निरन्तरता दिन चाहन्छौं । यो सल्लाह पनि भएको छ । भरसक सबै खेलाडी काठमाडौंमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छौं। आगामी प्रतियोगितालाई मध्यनजर गर्दै योजनाबद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौं,' रुबिनाले थपिन् ।
यस्तो कप्तान रुबिनाले घरेलु मैदानमा भएको युगान्डासँगको सिरिजपछि टोलीले प्रदर्शनमा धेरै सुधार ल्याउन सकेको बताईन् ।