काठमाडौं । फ्रेन्चाईज क्रिकेट नेपाल टी ट्वान्टी लिगको सम्झौताको विवाद संसदमा प्रवेश गरेको छ ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपालको आधिकारिक टी ट्वान्टी क्रिकेट लिगको कमर्सियल र रणनीतिक अधिकार दिने नेपाल क्रिकेट संघ (क्यान)को निर्णय विवादमा तानिएको हो ।
आईतबारको संसद बैठकमा एमाले नेता गोकुल बाँस्कोटाले विवादीत नेपाल टी ट्वान्टी लिगको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विदेशी कम्पनीलाई नेपाली क्रिकेटको सबै कानुनी र प्रोपर्टी अधिकार दिने कुरा सामान्य विषय नभएको उल्लेख गर्दै खेलकुद मन्त्रीले यसमा चासो राख्नुपर्ने धारणा राखे ।
'क्यानका अध्यक्ष चन्दले चतुर्याई गरेर क्रिकेट क्षेत्रलाई खत्तम गर्नुभएको छ । यो साधारण विषय हैन । यसमा सरकारको ध्यानकर्षण गछौं । मन्त्रीले यस विषयमा चासो राख्नुपर्छ ।' पूर्व मन्त्री बाँस्कोटाले भने, 'सरकारले यस सम्झौता फिर्ता लिनुपर्छ । सम्झौता च्यात्नुपर्छ । गर्नेनै भए पुनर्विचार गरेर गर्नुपर्छ ।'
क्यानले खेलकुद मन्त्रीको उपस्थितीमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग नेपाल टी ट्वान्टी लिगका लागि ८ वर्षको सम्झौता गरेको थियो । बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई नेपालको आधिकारिक फ्रेन्चाईज क्रिकेट लिगको अधिकार दिने निर्णयको विरोध भएको छ ।
एमाले नेता बाँस्कोटाले सम्झौताको क्रममा व्यापक आर्थिक अनियमितता भएको उल्लेख गर्दै कानुन विपरित बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई छनोट गर्नुमा प्रश्न उठाए ।
‘आन्तरिक खेललाई बन्धक बनाउने र विदेशको कम्पनीलाई कानुनी अधिकार र प्रोपर्टी अधिकार दिने कुरा घातक छ । व्यापक आर्थिक अनियमितताको विषय चर्चामा आएका छन् । वार्षिक ३ करोड २० लाखको सम्झौताको कुरा छ । बिना प्रतिस्पर्धा दिईएको छ । सरकारलाई कानुन लाग्दैन ?’ बाँस्कोटाले प्रश्न गरे ।
कुनै विवाद भएमा भारतीय कानुन आकर्षित हुने सम्झौताको बुँदाले क्यान र भारतीय कम्पनीबीचको समझदारीलाई थप विवादीत बनाएको छ ।
बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई आधिकारिक टी ट्वान्टी लिगको अधिकार दिने विषयले आर्थिक अनियमितताको शंकाको घेरामा क्यानका पदाधिकारी छन् ।