काठमाडौं । फुटबलका यस्तै कथाले त हो, हामीलाई जीवनप्रति आशावादी र सकारात्मक हुन सिकाउने । लिभरपुलले भर्खर अनुबन्ध गरेका खेलाडी हुन्, डारविन नुनेज । उनको मूल्य पनि चर्कै रह्यो, आठ करोड ५० लाख पाउन्ड । उनका पुराना दिनलाई फर्केर हेर्नु पर्छ, उनले तय गरेको यात्रा आफैमा अविश्वसनीय रहेको छ । उनी भर्खर २२ वर्षका भए । उरुग्वेको आर्टिगासमा जन्मेर हुर्केका हुन्, उनी । यो सहर ब्राजिलको सिमानासँग जोडिएको छ ।
सानोमा उनको एक मात्र उद्देश्य थियो, आफ्नो परिवारका लागि ठिक्कको एउटा घर किन्ने । उनी आफ्ना बुबा बिबिनो, आमा सिल्भिया र जादु जुनियरसँग त्यस्तो घरमा बस्थे, जसलाई नजिककैको कुरिम नदीले बेला बेलामा दु:ख दिइरहन्थ्यो । नुनेजका लागि उनका आमा बुबाले निकै दु:ख गरेका छन् । त्यसैले उनलाई लाग्छ, अब यिनै आमा बुबा र उनलाई कुनै न कुनै समय सहयोग गरेका सबैलाई अब उनले हेर्नु पर्छ, केही न केही गर्नु पर्छ ।
उनी भन्छन्, ‘मैले यो कहिले पनि बिर्सन छैन्, म कहाँबाट आएको हुं । मेरो बुबा घर निर्माणको मजदुर हुनु हुन्थ्यो र दिनहुँ आठ नौ घण्टा कडा मिहिनेत गर्नु हुन्थ्यो । उहाँको जुत्ता जहिले पनि फाटेको हुन्थ्यो । तर पनि उहाँले आफ्नो लागि जुत्ता किन्नु भएन्, मेरो लागि फुटबल बुट किन्नमै खर्च गर्नु भयो । मेरी आमा पनि घरका काम सकाएर बाटोमा प्लास्टिकको बोतल टिप्नु हुन्थ्यो र यसलाई बेच्नु हुन्थ्यो । हाम्रो घर कहिले पनि राम्रो स्थितिमा रहेन् ।’
नुनेज थप्छन्, ‘जति बेला मैले फुटबल खेल्न सुरु गरें, मेरो उद्देश्य भनेकै आफ्नो परिवारका लागि एउटा घर किन्नु थियो । आमा बुबाले मेरो लागि आफूले सक्दो गर्नु भएको छ, त्यसैले म उहाँहरूलाई कहिले पनि दु:ख देख्न चाहन्न । मैले पनि केही रात भोकै बिताएको छुं, तर मेरी आमाले त्यस्ता भोका रात धेरै बिताउनु भएको छ, किनभने उहाँ चाहनु हुन्थ्यो, हामी कहिले पनि भोकै नरहोस ।’ तर उनलाई आफ्नो परिवार र आफू हुर्केको ठाउँप्रति उत्तिकै गर्व छ ।
लिभरपुलसँग अनुबन्ध भएयता उनले सुनाएका छन्, ‘मेरा छरछिमेकीप्रति पनि म कृतज्ञ छुं र यो परिस्थितिले नै मलाई धेरै सिकाएको छ । म विहान सात बजे नै स्कुल जान्थे, किनभने मेरा साथीले केही खानका लागि ल्याउँथे । तीन बजे स्कुल छुट्टी हुँदा म सिधै फुटबल खेल्न जान्थें, किनभने त्यति बेला आमा घरमा हुनु हुन्न थियो र उहाँ बाटोमा बोतल टिपिरहनु भएको हुन्थ्यो ।’ उनी फुटबल भने राम्रै खेल्थे, त्यसैले १४ वर्षकै उमेरमा उनीमाथि धेरैको आँखा परिसकेको थियो ।
फुटबल खेल्नकै लागि उनी घरबाट ३ सय ७० माइल टाढा मोन्टेभिडियो पुगे । सँगै उनका दाजु पनि थिए, तर परिवारका लागि उनले फुटबल खेल्न छाडे, तर आफ्ना भाइलाई फुटबलमै केन्द्रित राखे । त्यसपछिको यात्रा पनि उनका लागि सुखद रहेन्, गाह्रै रह्यो । तर उनले हरेस खाएनन् । र, अन्तत: लिभरपुलसम्म पुगे । अहिले उनी त्यस स्थितिमा छन्, जहाँबाट उनले आफ्नो परिवारका लागि सबथोक गर्न सक्छन् । अहिले उनी जत्तिको खुसी सायद अरू कोही विरलै होला ।
–एजेन्सीहरूको सहयोगमा ।