काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडाको भ्रमण गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली टोलीले क्यानडाको भ्रमण गर्ने जनाएको छ ।
क्यानडाको भ्रमण दौरान नेपालले घरेलु टोलीसँग दुई खेलको टी-ट्वान्टी र दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले क्यानडासँग सुरुआतमा टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी असार १४ गते र दोस्रो टी-ट्वान्टी असार १५ गते हुनेछ ।
यस्तै नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय असार २० र दोस्रो एकदिवसीय असार २१ गते हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको स्कटल्याण्डमा आयोजना हुने त्रिदेशीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गर्न लागेको हो ।
लिग टु कै सिरिजका लागि नेपाली टोली यतिबेला अमेरिकाको भ्रमणमा रहेका छन् ।
नेपालले स्कटल्याण्डमा आयोजक र नामिबियाविरुद्ध खेल्नेछ । सिरिज आगामी जुलाईमा हुनेछ ।
स्कटल्याण्डको सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ । 