काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले मलेसियामा आयोजना हुने एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्ने टिमको लक्ष्य रहेको बताएका छन् ।
त्रिवि क्रिकेट मैदानमा शनिबार संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक टमटाले च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित तयारी भईरहेको बताएका हुन् ।
यस्तै टमटाले उपाधिसहित महिला टी-ट्वान्टी एसिया कप क्रिकेट २०२२ मा छनोट हुने लक्ष्य रहेको बताए ।
'मलेसियाको दुई फरक विकेट छ । त्यसका लागि हामी तयार छौँ,' प्रशिक्षक टमटाले भने, 'हाम्रो लक्ष्य सिधा छ । च्याम्पियन बन्ने र एसिया कपमा छनोट हुनेछ ।'
च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।
यस्तै समूह 'ए' मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
प्रशिक्षक टमटाले युगान्डासँगको सिरिजपछि तयारी गरिरहेको कारण टिम राम्रो बनेको बताए ।
'युगान्डाको सिरिजपछि हामी लगातार नै अभ्यासमा छौँ । केहि खेलाडी थप भएका छन् । सबैले मेहेनत गरिरहेका छौँ । फिटनेस र फिल्डिङसँगै स्किलमा हामीले धेरै काम गरिरहेका छौँ । राम्रो छ । युगान्डाको सिरिजमा भन्दा केहि फरक छ,' उनले भने ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपका लागि प्रारम्भिक महिला क्रिकेट टिमको घोषणा गरिसकेको छ ।
क्यानले प्रारम्भिक चरणमा १९ सदस्सीय टिमको घोषणा गरेको हो ।
प्रशिक्षक टमटाले हिले नेपाली टोली सन्तुलित रहेको समेत बताए ।
'स्पिनर ब्यालेन्स छ, फास्ट बलरमा केहि काम गर्नु छ । ब्याटरले राम्रो प्रदर्शन गरिरहेको छ । अहिले हामीसँग सन्तुलित टिम छ । हामीसँग उपलब्ध साधन र स्रोतलाई सदुपयोग गरिरहेका छौँ,' उनले थपे ।
च्याम्पियनसिपमा नेपालले भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल जुन १७ मा हुनेछ।
यस्तै नेपालले दोस्रो खेलमा जुन १८ मा कुवेतसँग खेल्नेछ ।
नेपालले जुन २० मा बहराइन र जुन २१ मा हङकङसँग खेल्नेछ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रारम्भिक नेपाली टोली -
रुविना क्षेत्री, इन्दु वर्मा, सिता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कबिता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल, इश्वरी विष्ट