काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको छ र नेपाललाई सुरुआतमा फिल्डिङको निम्तो दिएको छ ।
ओमानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजाको योजनामा रहेको छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ ।
ओमान नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । तर, पछिल्लो चार भेटमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ।
लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।,
लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ ।
नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।