काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेल जित निकालेको छ ।
प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा शनिबार राति भएको अभ्यास खेल नेपालले टेक्ससको ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको हो ।
नेपालको जितमा हरिकेन्सविरुद्ध कप्तानी गरेका रोहित कुमार पौडेलले शतकीय इनिङ्स खेले ।
पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५० रन जोड्यो । नेपालको सम्मानजनक योगफलममा रोहितले १ सय १ रनको शतकीय इनिङ खेले ।

यस्तै आरिफ शेखले ४१ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए । देव खनाल १९ सुनिल धमला १३ र करण केसी १२ रनमा आउट भए ।
हरिकेन्सका मोहम्मद इलियासले ५ विकेट लिए । हरमित सिंहले २ विकेट लिए ।
नेपालले दिएको २ सय ५१ रनको लक्ष्य छ्याएको हरिकेन्स ४३ ओभर ३ ओभरमा अलआउट हुँदै २ सय २१ रन जोड्न सक्यो ।
हरिकेन्सका निनाद निम्बालकरले ९९ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै एन्ड्रिस गौसले २८ रन जोड्दा रमिज राजाले २२ रन बनाए । गौरभ बजाज १५ रनमा आउट भए ।
नेपालका सोमपाल कामीले ५ विकेट लिए । किशोर महतो र सागर ढकालले २/२ विकेट लिए ।
यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग अभ्यास खेलेको थियो । अल स्टार्ससँग नेपाल ४ विकेटको पराजित भएको थियो ।
सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास खेल खेलको हो ।
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।